काठमाडौं – टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउने प्राकृतिक विपत्सम्बन्धी यथार्थ र प्रमाणित जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ सर्च गाइड सुरु गरेको छ।
कम्पनीले विज्ञप्तिमार्फत प्राकृतिक विपत्का बेला सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिने उद्देश्यले यो पहल सुरु गरिएको जनाएको छ।
अब टिकटकमा बाढीसम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने विशेष ब्यानर देख्नेछन्। उक्त सर्च गाइडमार्फत प्रयोगकर्ताले नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर तथा विपत्बाट प्रभावित व्यक्तिका लागि आवश्यक सहयोग र जानकारी समेटिएको ट्र्याजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच पाउनेछन्।
गाइडमा प्राकृतिक विपत् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटनाबारे जानकारी, मानसिक स्वास्थ्यसम्बन्धी सहयोग प्राप्त गर्ने उपाय तथा यस्ता घटनासँग सम्बन्धित सामग्री जिम्मेवारीपूर्वक साझेदारी गर्ने वा रिपोर्ट गर्ने तरिकाबारे पनि उपयोगी जानकारी समावेश गरिएको टिकटकले जनाएको छ।
टिकटकका दक्षिण एसियाली सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले संकटका बेला सही जानकारी पनि अन्य सहायता जत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै आवश्यक परेको समयमा समुदायलाई विश्वसनीय स्रोत उपलब्ध गराउन यो सुविधा सुरु गरिएको बताए।
उनले सही जानकारीको पहुँच विस्तार गर्दै प्रयोगकर्तालाई आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन प्रेरित गर्ने सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माणप्रति टिकटक प्रतिबद्ध रहेको पनि बताए।





