काठमाडौं । नेकपाका सांसद प्रमेश हमालले फिफा विश्वकप–२०२६ नेपाली दर्शकले निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा धारणा राख्दै सांसद हमालले विश्वकप प्रसारणका लागि दर्शकसँग ९९९ रुपैयाँ शुल्क लिने व्यवस्थाप्रति आपत्ति जनाएका हुन्।

ADVERTISEMENT

उनले विश्वकप हेर्न चाहने सर्वसाधारणबाट मनपरी रूपमा शुल्क असुलिएको आरोप लगाउँदै अब सरकारले आफ्नै टेलिभिजन च्यानलमार्फत प्रतियोगिता निःशुल्क प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने बताए।

“विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ। अब त सम्बन्धित कम्पनीले पर्याप्त आम्दानी पनि गरिसकेको होला, त्यसैले नेपाल सरकारले आफ्नै टेलिभिजन च्यानलमार्फत नागरिकलाई निःशुल्क हेर्न पाउने व्यवस्था गर्नुपर्छ,” सांसद हमालले भने।

ADVERTISEMENT

सांसद हमालले यसै क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन्। उक्त विषयमा लामो समयदेखि विरोध हुँदै आएको भए पनि सभामुखले आवश्यक ध्यान नदिएको उनको आरोप थियो।

“प्रधानमन्त्रीको भनाइ हटाइनुपर्छ। यतिका दिनसम्म हामीले विरोध गर्दा पनि सभामुखले ध्यान दिनुभएको छैन,” उनले संसद बैठकमा भने।

उनले सरकार र संसद सचिवालयलाई विवादित विषयमा स्पष्ट निर्णय गर्न तथा जनचासोका विषयमा संवेदनशील बन्न आग्रह गरेका छन्।