कठमाडौं । असार पहिलो साता नयाँ दल खुल्ने भएको छ । संवैधानिक राजतन्त्रलाई आदर्श मानेर नयाँ दल खुल्न लागेको हो । अहिले राजतन्त्रका वकालत गर्ने दल राप्रपा मात्र छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका धवलशमशेर राणा समूहले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी घोषणा गरेका हुन् । राणा र प्रसाईले राजावादी पार्टी खोल्न लागेका हुन् ।

ADVERTISEMENT

पार्टीको अध्यक्ष धवलशमशेर राणा र प्रसाईं सर्वमान्य नेता हुने भएका छन् । नेताहरूका अनुसार अध्यक्षमा राणा र सर्वमान्य नेता चयन गर्न आन्तरिक सहमति भइसकेको छ । त्यही सहमतिअनुसार उनीहरूले पार्टीको संरचना बनाउने तयारी गरेका छन् ।

राणा र प्रसाईंको आन्तरिक सहमतिपछि पार्टी निर्माणमा लागि दुईवटा समिति गठन गरिएका छन् । पार्टीको विधान, नाम र चिह्नलगायतका लागि एउटा कार्यदल बनेको छ । ११ सदस्यीय कार्यदलको नेतृत्व मुकुन्दश्याम गिरीले गरेका छन् ।

ADVERTISEMENT

असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन राजु आचार्यको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन भएको छ ।

पत्रकार सम्मेलनमा प्रसाईंले डेढ वर्ष अवधिमा आफू १४ पटकसम्म हिरासत पुगेको र झन्डै एक वर्ष हिरासतमै बिताएको बताए।

प्रस्तावित राष्ट्रवादी शक्ति निर्माणबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रसाईंले भने, ‘डेढ वर्षमा झन्डै एक वर्ष त म हिरासतमा बसेको रहेछु।’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिलविकास राजभण्डारीलगायत नेताहरूलाई कारबाही गरेको पनि उनले बताए।