काठमाडौँ ।हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि सुत्केरी व्यथाले थलिएकी ३३ वर्षीया महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।नाम्खा गाउँपालिका–३ की डिकी साङमु तामाङ (लामा)लाई शुक्रबार बिहान हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।

आमा र शिशुको ज्यान जोखिममा परेपछि विभिन्न निकायको समन्वयमा उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेकी लामालाई रगतको अभाव भएपछि जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएको रिफर गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए।

ADVERTISEMENT

ADVERTISEMENT

हुम्लामा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र सीमित स्वास्थ्य पूर्वाधारका कारण गर्भवती तथा सुत्केरी महिलाले समयमै उपचार पाउन कठिनाइ भोग्दै आएका छन्। दुर्गम क्षेत्रका महिलाका लागि सामान्य प्रसूति सेवा पनि ज्यान बचाउने चुनौती बन्ने गरेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट गरिएको उद्धारको खर्च संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उद्धार कार्यक्रमले बेहोर्दै आएको छ।