काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका उनले बुधबार मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताए।
प्रसाईले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ। उनले आन्दोलन शान्तिपूर्वक हुने दावी गरे।
प्रसाईले आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेका थिए । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा तत्काल आन्दोलनका कार्यक्रम नरहेको बताएका थिए । तर दुई दिनपछि नै उनले आन्दोलनको घोषणा गरेका छन् ।
गत चैत १५ मा भएको तीनकुने घटनामा प्रहरीले प्रसाईलाई मुख्य दोषी ठहर गर्दै थुनामा राखेको थियो । तर अदालतले उनलाई धरौटीमा छाडेको थियो । जेनजी आन्दोलनमा प्रसाई समूहको व्यापक घुसपैठ भएको निष्कर्ष सुरक्षा संयन्त्रले निकालेको छ । आफूले चाहेअनुसारको सरकार गठन नभएको भन्दै प्रसाईले फेरि आन्दोलन गर्ने तयारी गरेका हुन् ।






