काठमाडौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार प्रसाईँलाई अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति प्राप्त भएको हो।
प्रहरीले प्रसाईँलाई साेमबार भक्तपुरबाट पक्राउ गरेको थियो। उनीमाथि सामाजिक सञ्जालमार्फत भ्रामक अभिव्यक्ति दिएको तथा सार्वजनिक शान्ति भंग हुने गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रसाईँ यसअघि पनि माघ ५ गते र २३ गते पक्राउ परेका थिए। पछिल्लो पटक पुनः पक्राउ परेसँगै उनीविरुद्धको अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरी स्रोतले जनाएको छ।






