काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गरेको अवरोध हटेपछि संसद् बैठक पुनः सुचारु भएको छ।सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका तर्फबाट श्रम संस्कृति पार्टीलाई सदनमा बोल्न समय उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि संसद्को गतिरोध अन्त्य भएको हो।
गतिरोध हटेसँगै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन्।
यसअघि विपक्षी दलको हैसियतमा संसद्मा आफ्नो धारणा राख्न पाउनुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्को वेल घेराउ गरेका थिए। उनीहरूले विपक्षी दललाई बोल्न नदिइएको भन्दै विरोध जनाएका थिए।
सभामुख अर्यालले भने श्रम संस्कृति पार्टीले विपक्षी दलका तर्फबाट बोल्नका लागि औपचारिक रूपमा समय नमागेको बताएका थिए। तथापि, संसद्मा देखिएको अवरोध अन्त्य गर्न उनले बोल्ने समय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि सहमति जुटेको हो।
सभामुखको आश्वासनपछि सांसदहरूले वेल घेराउ फिर्ता लिएका थिए र संसद् बैठकको कार्यसूची अघि बढाइएको छ।









