काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन २० गतेसम्म स्थगित भएको छ । संसद् बैठक लामो समयसम्म स्थगित भएसँगै विभिन्न दलका सांसदहरू विदेश यात्रामा लागेका छन् ।
स्वयं सभामुख देवराज घिमिरे स्विटजरल्यान्डको भ्रमणमा निस्किएका छन् । विभिन्न दलका सांसदहरूले अहिले मेरिका, चीन, भारत, काजिकास्तानको भ्रमणमा निस्केका छन् ।
तर यतिबेला १४ जना सांसदको बिजेपी हेडक्वार्टर प्रवेशले तरंग सिर्जना गरेको छ । शनिबार नयाँ दिल्ली पुगेका १४ सांसदले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा शीर्ष नेताहरुसँग छलफल गरेका छन् । जसमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जनमत पार्टीका सांसद छन् ।
बिजेपी हेडक्वार्टर प्रवेश गरेर छलफल गर्ने सांसदहरूमा मेटमणि चौधरी, कार्चेन लामा, अनिशा नेपाली, दिक्पाल शाही, रेखा यादव, राजेन्द्र पाण्डे, सञ्जय गौतम, शिव नेपाली, सरिता प्रसाईं, रामकृष्ण यादव, अब्दुल खान, दामोदर पौडेल, गंगा कार्की र दिपा शर्मा रहेका छन्।
भाजपा नेता शिव प्रकाशले नेपाली सांसदहरूलाई भारतीय जनता पार्टीको सांगठनिक ढाँचा, राजनीतिक दृष्टिकोण र रणनीतिक गतिविधिहरूको बारेमा जानकारी गराएका थिए।
भारतका प्रभावशाली नेताहरू अजय टम्टा (राज्यमन्त्री), लोकसभा सांसद डा. सञ्जय जैसवाल, उत्तर प्रदेशका पूर्व मन्त्री डा. सतीश द्विवेदी र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेपाली प्रतिनिधिमण्डलसँग नेपालको राजनीतिक अवस्था, समसामयिक कूटनीति, विकास सहकार्य र नेपाल–भारत सम्बन्धबारे छलफल गरेका थिए।
यस भेटलाई लिएर राजनीतिक विश्लेषकहरूले विभिन्न कोणबाट व्याख्या गर्न थालेका छन्। नेपालमा दलहरूको आन्तरिक किचलोबीच यस्तो उच्चस्तरीय भारतीय भेटवार्ताले पार्न सक्ने प्रभावबारे चासो बढेको हो।








