काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु गर्ने प्रमुख कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासा, सुझाव र प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ। साथै सरकारले प्रस्तुत गरेको बजेट तथा आर्थिक कार्यक्रमका विभिन्न पक्षबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

बैठकमा अर्थ विधेयक निर्धारित अवधिभित्र राष्ट्रिय सभाबाट फिर्ता नआएको विषयमा जानकारी गराइनेछ। त्यस्तै, चलचित्र विधेयकलाई दफावार छलफ लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी जानकारी सदनमा प्रस्तुत गरिनेछ। अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि सदनमा पेश गर्ने सम्भावित कार्यक्रम रहेको छ।

ADVERTISEMENT

तर, आजको बैठक नियमित कार्यसूचीअनुसार सञ्चालन हुने वा नहुने विषय अझै अनिश्चित बनेको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउन वा माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। यस विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा पछिल्ला केही बैठकहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्।