काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ ।
आजको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
अहिले शून्य र आकस्मिक समयमा सांसदहरूले समसामयिक समस्याका बारेमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।








