काठमाडौं । एक भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी राजेशकुमार कहर, कार्यालय सहायक मीना चौधरी र स्थानीयवासी आलम जोल्दा रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार चारै जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालतले सोमबार उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यस प्रकरणमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ। यद्यपि उनीहरू हालसम्म पक्राउ परेका छैनन्।

ADVERTISEMENT

प्रहरीले गत जेठ २० गते जिल्ला अदालतबाट उनीहरूसहित छ जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो।

अनुसन्धानका क्रममा २०७५ कात्तिक २८ गते आलम जोल्दाले बुवा सुनाउल्ला जोल्दाको नामबाट वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।