दाङ। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर भएको विवादका क्रममा घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि कालो मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ।

घटनामा वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकी संलग्न रहेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी (डीएसपी) डा. हेम केसीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानअनुसार विद्यालय व्यवस्थापन समिति निर्वाचन सहमतिमै गराउने वा मतदानमार्फत अघि बढाउने विषयमा दुई पक्षबीच विवाद भएको थियो। वडा सदस्य बुढाथोकीले निर्वाचन गराउन नहुने अडान राखेपछि विवाद चर्किएको र त्यसक्रममा शिक्षा अधिकृत बोहोरामाथि कालो मोबिल खन्याएर दुर्व्यवहार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि आरोपित रोल्पातर्फ गएको आशंकामा जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय गरेर खोजी कार्य अघि बढाइएको छ। घटना शनिबार भएको हो।

ADVERTISEMENT

यस घटनाप्रति दाङमा क्रियाशील शिक्षक संगठनहरूले पनि आपत्ति जनाएका छन्। मतदान अधिकृतका रूपमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि सार्वजनिक स्थलमै हातपात, कालो मोबिल दल्ने, बोतल प्रहार गर्ने तथा अपमानजनक व्यवहार गरिएको भन्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गरेका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी गर्दै विद्यालयजस्तो शान्ति क्षेत्रभित्र हिंसात्मक गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिको तत्काल खोजी, अनुसन्धान र कानुनी कारबाही गर्न माग गरेको छ। साथै आगामी दिनमा विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।