दाङ । प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु भएको तीन घण्टा बितिसक्दा पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन।

बबई गाउँपालिका–१ जिल्लास्थित जनता आधारभुत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती माध्यमिक विद्यालय मलैखोलामा मतदाता उपस्थित नहुँदा मतदान रोकिएको हो।

ADVERTISEMENT

मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार जनता आधारभुत विद्यालय जिल्लामा ६८२ मतदाता छन्, तर अहिलेसम्म कुनै मत खसेको छैन। देउती मावि मलैखोलामा पनि मतदान अधिकृत टेकबहादुर केसीले अहिलेसम्म मतदान हुन नसकेको जानकारी दिएका छन्।

बबई–१ र–७ क्षेत्र, बाके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा सहभागी नहुने अडान लिएका छन्।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार मतदातालाई निर्वाचनमा सहभागी गराउने प्रयास भएपनि अहिलेसम्म मतदान केन्द्रमा कुनै मत खसेको छैन। आन्दोलित क्षेत्रका मतदाता मतदानमा सहभागी हुन अझै नसकेका कारण प्रक्रिया प्रभावित भएको छ।