काठमाडौं। नबिल बैंक लिमिटेडले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन गरेको निःशुल्क जलन उपचार शिविरबाट ८५ जनाले उपचार तथा परामर्श सेवा लिएका छन्।नबिल बैंक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पतालको सहकार्यमा वैशाख २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिएको थियो।
बैंकका अनुसार शिविरमा २५ जनाको शल्यक्रिया गरिएको छ। तीमध्ये जटिल अवस्थाका १२ जनालाई थप उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला स्मृति अस्पताल पठाइएको छ।नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार तथा परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
जलनका घटनाका पीडितलाई तत्काल र विशेष उपचार आवश्यक हुने भए पनि धेरै स्थानमा विशेष उपचार केन्द्रको अभावका कारण समयमै गुणस्तरीय सेवा पाउन कठिन हुने अवस्था रहेको बैंकले जनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा अझै पनि धेरै जलन पीडितले उचित उपचार नपाउने अवस्था रहेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो शिविर सञ्चालन गरिएको बताए।
उनले चार वटा प्रदेशमा सञ्चालन गरिएका जलन उपचार शिविरमार्फत स्रोत अभावका कारण उपचारको पर्खाइमा रहेका करिब पाँच सय बिरामीले निःशुल्क सेवा प्राप्त गरेको जानकारी दिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. सुरेश रसाइलीले प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट सेवा उपलब्ध नभएको अवस्थामा शिविरले धेरै राहत पुर्याएको बताए।
उनले यस प्रकारको सेवा उपलब्ध नभएको क्षेत्रमा २५ वटा शल्यक्रिया हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको बताए।
नबिल बैंकले यसअघि सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा पनि यस्तै शिविर सञ्चालन गरिसकेको छ। बैंकका अनुसार मधेश प्रदेशमा १५०, धनगढीमा ६५ र सुर्खेतमा १९४ जनाले उपचार तथा परामर्श सेवा लिएका थिए।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक उद्यमशीलता तथा दिगो विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






