काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ । सदन निरन्तर चलेमा अर्थमन्त्री वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

ADVERTISEMENT

अर्थमन्त्री वाग्लेले नै विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूचीसमेत छ । त्यसैगरी वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।

उनले आजै नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

ADVERTISEMENT

आजको बैठकमा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पति भएको ‘चलचित्र विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मंगलबारको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गरेको जाकारी गराउने कार्यसूची छ भने सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभाबाट अवधि भित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूचीसमेत छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् । त्यसैले आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्ने–नगर्ने निश्चित भने छैन । विपक्षी दलले मंगलबारको बैठकमा पनि अवरोध गर्ने निर्णय गरेका छन् ।