काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए ।
आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ । कार्यसूची तय भए पनि प्रधानमन्त्री आउने नआउने अझै टुंगो लागेको भने छैन । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।








