काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीसँगको एक अन्तर्वार्ता बिचमै छाडेका छन्। चुनावी धाँधलीसम्बन्धी आफ्ना दाबीमाथि प्रस्तोता क्रिस्टन वेल्करले पटक–पटक प्रश्न उठाएपछि ट्रम्प र प्रस्तोताबीच चर्को बहस भएको थियो।
आइतबार प्रसारित ‘मिट द प्रेस’ कार्यक्रममा ट्रम्पले क्यालिफोर्नियामा भइरहेको प्राथमिक निर्वाचन र सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचन दुवैमा धाँधली भएको दाबी गरेका थिए। तर वेल्करले ती दाबीको समर्थनमा प्रमाण मागेपछि विवाद चर्किएको हो।
ट्रम्पले आफ्नो दाबी पुष्टि गर्न कुनै ठोस प्रमाण प्रस्तुत नगरी “मलाई त हेर्नु र सुन्नु मात्रै पर्याप्त छ” भन्ने प्रतिक्रिया दिएका थिए। त्यसको जवाफमा वेल्करले “त्यो कुनै प्रमाण होइन” भनेपछि बहस थप तीव्र बनेको थियो।
अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिकी सञ्चारमाध्यमलाई “बेइमान” भएको आरोप लगाए। उनले प्रस्तोता वेल्करलाई लक्षित गर्दै “उनीहरू बेइमान छन्, ठीक तपाईंजस्तै” भनेका थिए। वेल्करले आफू निष्पक्ष रहेको बताउँदै संवादलाई अगाडि बढाउने प्रयास गरे पनि ट्रम्प थप आक्रोशित बनेका थिए।
केही समयपछि ट्रम्पले अन्तर्वार्ता समाप्त गर्ने घोषणा गर्दै “अब यसलाई यतिमै अन्त्य गरौं, मेरा लागि धेरै भयो” भनेका थिए। त्यसपछि उनी उठेर सेटबाट बाहिरिएका थिए।
एनबिसीका अनुसार अन्तर्वार्ता विस्कन्सिनमा किसानहरूसँगको कार्यक्रममा गोठभित्र रेकर्ड गरिएको थियो। वर्षा र प्राविधिक समस्याका कारण रेकर्डिङमा बारम्बार अवरोध उत्पन्न भएको थियो। ट्रम्पले करिब ५० मिनेटसम्म अन्तर्वार्ता दिएपछि बीचमै छाडेका थिए।
अन्तर्वार्ताको अधिकांश समय इरानसँगको तनाव, सम्भावित द्वन्द्व तथा अमेरिकी विदेश नीतिका विषयमा केन्द्रित थियो। ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्न अमेरिका सक्रिय रहनुपर्ने धारणा व्यक्त गरेका थिए।
अन्तर्वार्ता प्रसारणपछि प्रस्तोता क्रिस्टन वेल्करले वर्षा र प्राविधिक समस्याका बाबजुद ट्रम्पले पुनः ‘मिट द प्रेस’ कार्यक्रममा सहभागी हुन सहमति जनाएको जानकारी दिएकी छन्।








