काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले पनि त्यसैलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सामान्य बढेको हो।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत घटेको छ। विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। शुक्रबार पाँच अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । ३५६ स्टकको ५६ हजार ८४५ पटकको कारोबारमा चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
सेन्ट्रल फाइनान्स कम्पनीको २० करोड ४६ लाख २९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आँखु खोल जलविद्युत कम्पनीको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।
कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य १० प्रतिशत बढेको छ।






