काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि बुधबार नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ।
१३ मध्ये दुई उपसमूहको मात्र परिसूचक बढेको छ । म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।
नेप्सेजस्तै कारोबार रकम पनि घटेको छ। मंगलबार चार अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३४३ स्टकको ४८ हजार पटकको कारोबारमा चार अर्ब दुई करोड ९४ लाख रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बुधबार हिमालयन पावर पार्टनर कम्पनीको २२ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। खानी खोला हाइड्रोपावरको २१ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज एभरेष्ट कलरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो कम्पनीको सेयरमूल्य १२९ रुपैयाँ १० पैसा बढेर ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, कालिन्चोक हाइड्रोपावरको सेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको छ ।







