काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से अन्तिम समयमा बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा कायम छ। १३ मध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । लगानी उपसमूहको परिसूचक २.२१ प्रतिशत बढेको छ। बैंकिङ, वित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार चार अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४८ स्टकको ४३ हजार ९९० पटकको कारोबारमा तीन अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ८७ लाख एक हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३१ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

बुधबार माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

इमर्जिङ नेपालको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको १२ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य १५ प्रतिशत घटेको छ।