काठमाडौं । व्यापारको सर्वमान्य सिद्धान्त नाफा हो। नाफामै सिंगो व्यापारको आयु निर्धारण हुन्छ। कुनै समय नाफा, कुनै समय घाटा अनि फेरि कुनै समय नाफा र कुनै समय घाटा, विश्व बजारमा व्यापारको चक्र पनि यही नै हो। तर यो चक्र नेपालको वैदेशिक व्यापारमा सायद देखिँदैन होला, किनकि अहिलेसम्म हाम्रो देशको वैदेशिक व्यापार नाफामा होइन, घाटामै चलिरहेको छ, त्यो पनि करोड र अर्बमा होइन, खर्बौँ रुपैयाँमा।

वैदेशिक व्यापार घाटासम्बन्धी नेपाल राष्ट्र बैंक र भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो एक दशक अर्थात् आर्थिक वर्ष २०७२/०७३ देखि आव २०८१/०८२ सम्ममा मात्र नेपालले वैदेशिक व्यापारमा कुल १२ हजार ८१४ अर्ब रुपैयाँ बराबरको घाटा बेहोरिसकेको छ। यो तथ्यांकअनुसार नेपालले प्रत्येक वर्ष औसतमा १० खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरेको देखिन्छ। भन्सार विभागको तथ्यांकअनुसार आव २०७२/०७३ मा नेपालले वैदेशिक व्यापारमा कुल ७ खर्ब ३ अर्ब रुपैयाँको घाटा बेहोरेको थियो। त्यसको लगत्तै आव २०७३/०७४ मा यस्तो व्यापार घाटा बढेर ९ खर्ब १७ अर्ब रुपैयाँ पुग्यो। त्यसपछिका आवहरू २०७४/०७५, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ मा यस्तो घाटा लगातार बढेर क्रमशः ११ खर्ब ६३ अर्ब, १३ खर्ब २१ अर्ब, ११ खर्ब ६९ अर्ब र १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको देखिन्छ।

ADVERTISEMENT

भन्सार विभागका अनुसार त्यसपछिका आर्थिक वर्षहरूमा यस्तो व्यापार घाटा अझै निकै बढेको देखिन्छ। जसअनुसार आव २०७८/०७९, २०७९/०८० र २०८०/०८१ मा यस्तो व्यापार घाटा अझै बढेर क्रमशः १७ खर्ब २० अर्ब, १४ खर्ब ५५ अर्ब र १४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको देखिन्छ। विभागका अनुसार सबैभन्दा पछिल्लो अवधि अर्थात् आव २०८१/०८२ मा मुलुकले कुल १५ खर्ब २७ अर्ब रुपैयाँको हाराहारीमा व्यापार घाटा बेहोरेको देखिन्छ।

आखिर किन यस्तो अवस्था आयो त ?

ADVERTISEMENT

“नेपालको अर्थतन्त्र आयात र उपभोगमुखी हो। जबसम्म मुलुकको अर्थतन्त्र निर्यात र उत्पादनमुखी हुँदैन, तबसम्म मुलुकको वैदेशिक व्यापार घाटा अर्बौँमा होइन, खर्बौँ रुपैयाँमै रहिरहन्छ,” अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन्।

अहिले हामीले सोच्ने र गर्न सक्ने भनेको उच्च आयातलाई कसरी कम गर्ने र निर्यात कसरी बढाउने भन्ने नै हो। यसो गर्न सके खर्बको व्यापार घाटामा केही कमी आउन सक्ने उनको भनाइ छ। यसको लागि पनि मुलुकको अर्थतन्त्रलाई उपभोगमुखीबाट उत्पादनमुखी बनाउनुपर्ने डा. अधिकारी बताउँछन्। “जुन कुरा हामीले गर्न सक्छौँ, जुन उत्पादन गर्न सक्छौँ, त्यो हामीले गर्नुपर्छ। अहिले दैनिकजसो प्रयोगमा आउने कृषिजन्य वस्तुको आयातमा पनि वर्षेनि हाम्रो खर्बौँ रुपैयाँ बाहिरिने गरेको छ। यसलाई कम गर्नका लागि राज्यले कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा विशेष सहुलियत दिनुपर्छ,” डा. अधिकारी भन्छन्।

कृषि क्षेत्रमा किसानको मनोबल बढ्नु भनेको अन्ततः उत्पादन बढ्नु हो। यसकारण सरकारले उत्पादनमुखी अर्थतन्त्रलाई बढावा दिन किसानको मनोबल बढाउनुपर्नेमा अर्थविद् डा. अधिकारीले जोड दिएका छन्।

पछिल्लो एक दशकमा भएको मुलुकको कुल वैदेशिक व्यापार घाटा (रकम रु अर्बमा)

(श्रोतः नेपाल राष्ट्र बैंक र भन्सार बिभाग)