काठमाडौं । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ अभियानअन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत तथा पुनःनिर्माण कार्यलाई तीव्रता दिएको छ। ठेक्का प्रणालीभन्दा स्थानीय सहभागितालाई प्राथमिकता दिँदै नगरपालिकाले उपभोक्ता समितिमार्फत काम अघि बढाएको जनाएको छ।
सिद्धपोखरी संरक्षण तथा पुनःनिर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिले पोखरीको पानी भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाले मर्मत कार्यका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी, पर्खाल तथा अन्य संरचनाको मर्मत भइरहेको छ। स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न संघसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन नगरपालिकाले आह्वान गर्दै आएको छ। सार्वजनिक बिदाका दिन स्थानीयको उल्लेख्य सहभागिता देखिने गरेको बताइएको छ।
भक्तपुरको ऐतिहासिक पहिचान बोकेको सिद्धपोखरी धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण सम्पदा मानिन्छ। भक्तपुर दरबार क्षेत्रसहित अन्य ऐतिहासिक स्थल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणको केन्द्र बनेको छ। चारैतिर बलियो पर्खालले घेरिएको तथा कलात्मक प्रवेशद्वारहरूले सजिएको यस आयताकार पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट, उत्तर–दक्षिण चौडाइ २४९ फिट तथा गहिराइ करिब १० फिट रहेको छ।
इतिहासअनुसार नेपाल संवत् २३९ अर्थात् १३औँ शताब्दीको प्रारम्भतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना तथा ठूला मानव निर्मित पोखरीमध्ये एक हो। प्रारम्भमा ‘इन्द्र दह’ नामले परिचित यस पोखरीलाई १५औँ शताब्दीमा राजा यक्ष मल्लले जीर्णोद्धार गराएका थिए। नेपाल एकीकरणपछिको समयमा भीमसेन थापाको कार्यकालमा पुनःनिर्माण गरी ‘सिद्धपोखरी’ नामकरण गरिएको इतिहास छ।
नगरपालिकाले पुर्खाको गौरवशाली इतिहास र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै पोखरी, मठमन्दिर तथा अन्य ऐतिहासिक संरचनाको नियमित सरसफाइ, मर्मत तथा पुनःनिर्माण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।









