काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण सम्पन्न भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ (एनएमए) ले अनुमति दिँदै आएको छ ।

यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका एक सय ५९, अमेरिकाका एक सय ५२, भारतका एक सय एक, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२, फ्रान्सका २७ जना छन् ।

ADVERTISEMENT

पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्न एक हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने चार सय ९५ रहेको जानकारी दिए । सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका तीन सय ९० पुरुष र एक सय पाँच महिला थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा गाइड गरी करिब एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए ।

ADVERTISEMENT

यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् ।
यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेका छन् ।

ADVERTISEMENT

यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छन् ।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट एक अर्ब आठ करोड १० लाख ७२५ राजस्व संकलन गरेको छ । यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजंघाबाट एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट एक करोड २० लाख ४९ हजार १७५ राजस्व संकलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व संकलन गरेको छ ।