काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा पढ्न चाहनेका लागि आवेदन खोलेको छ । बोर्डले आइतबार सूचनामार्फत आवेदन आह्वान गरेको हो ।
चलचित्रसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति दिन लागेको सूचनामा उल्लेख छ । बोर्डका अनुसार सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थी, अनुसन्धानदाता तथा शोधकर्ता छात्रवृत्तिका लागि योग्य मानिनेछन् ।
‘यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य विद्यार्थी, अनुसन्धानदाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन पेश गर्न आह्वान गरिन्छ’, सूचनामा भनिएको छ ।
बोर्डको कार्यालय वा इमेल ठेगानामार्फत अनलाइन आवेदन दिन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी बोर्डको वेबसाइटमा राखिएको छ । छात्रवृत्तिले फिल्मसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गर्ने बोर्डको विश्वास छ । बोर्डले हरेक वर्ष सिनेमा पढ्न चाहनेका लागि छात्रवृत्ति दिँदै आएको छ ।





