काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् ।
खनालको भारत भ्रमणको क्रममा नेपाल-भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने जनाइएको छ ।
तर परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति भने खुलाइएको छैन । परराष्ट्रमन्त्री खनालको भारत भ्रमणको मितिबारे काठमाडौंस्थित भारतीय दूतावासमार्फत छलफल भइरहेको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधवार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले खनालको भ्रमणबारे जानकारी गराएका हुन् ।
सांसद बोहोराले बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘लगत्तै हाम्रो परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्रमन्त्री आउँदैगर्दा हाम्रा कन्सर्नका विषयहरू के के हुन्, हाम्रा प्राथमिकताका विषय केके हुन्, हामीले गर्नुपर्ने भारतसँगका सहकार्यमा केके बाँकी छन्, केके अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभाछ । परराष्ट्रमन्त्री जयशंकरले भन्नुभाको छ ।’
जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले बुधवार मोदीसँग एक घण्टाभन्दा बढी समयसम्म भेटवार्ता गरेका थिए । मंगलवार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरुसँग भेटवार्ता भएको थियो ।






