काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलबार बढेर बन्द भएको नेप्सेले सोही क्रमलाई आज पनि निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६६ अंक बढेर २७८०.२५ विन्दुमा पुगेको छ। कारोबारको समयमा नेप्से परिसूचक २० अंकले सम्म बढेको थियो ।
१३ उपसमूहमध्ये आज उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार पाँच अर्ब २६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३४७ स्टकको ६२ हजार १४८ पटकको कारोबारमा पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज पनि आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड २३ लाख ७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । रिडी पावर कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।
कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ७४ रुपैयाँ ७० पैसा बढेर ५७२ रुपयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य करिब १५ प्रतिशत बढेको छ । विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।








