काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।








