काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । जेठ १८ देखि २१ गतेसम्म उनी भारत भ्रमणमा रहने भएका छन् । लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणामा जुन १ देखि ५ सम्म नयाँ दिल्लीको औपचारिक भ्रमण गर्दैछन्।
रास्वपा नेताहरूका अनुसार जेठ १८ र १९ गते उनी नयाँ दिल्लीमा उच्च राजनीतिक भेटवार्तामा व्यस्त हुने भएका छन् । त्यसपछिका दुई दिन भने उनी पार्टी संगठनको काममा भेटघाटमा रहने भएका छन् ।
चुनावमा बहुमत आउनेवित्तिकै नयाँ दिल्लीले प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेलाई निम्तो दिएको थियो। प्रधानमन्त्री शाहको भ्रमण अनिश्चित भएपछि लामिछाने नयाँ दिल्ली जान लागेका हुन्। लामिछानेसँगै श्रीमती निकिता पौडेल, बिपिन आचार्य र दीपक बोहरा प्रतिनिधिमण्डलमा रहनेछन् ।
स्रोतका अनुसार लामिछानेले मोदीका साथै विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिश्री र भाजपा अध्यक्ष नितिन नवीनलगायतसँग भेटघाट गर्ने बताएका छन्।
काठमाडौँको बदलिएको राजनीतिक सन्दर्भमा दुवै पक्षलाई एकअर्कासँग संलग्न हुने र बुझ्ने अवसर प्रदान गर्न जुन २ मा लामिछाने र मोदीबीचको भेटघाट प्रस्ताव गरिएको छ।
नयाँ दिल्लीमा औपचारिक बैठकहरू सम्पन्न गरेपछि लामिछानेले आगरा वा अयोध्याको भ्रमण गर्नेछन् ।
नेपाली भूभाग लिपुलेकको सीमा विवाद चर्केका बेला लामिछानेको भारत भ्रमण तय भएको हो। जुन घटनाले भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौं भ्रमण स्थगित भएको थियो ।
नेपालमा नयाँ सरकार बनेपछि यहाँको वस्तुस्थिति बुझ्न मिश्री मे ११ मा काठमाडौं आउने तय भएको थियो। अप्रिल १० मा मौरिससमा भएको बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरले विदेशमन्त्री शिशिर खनाललाई यसबारे जानकारी गराएका थिए । मिश्री प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीलगायत वरिष्ठ नेपाली नेताहरूसँग वार्ता गर्न काठमाडौं आउनेछन्।
तर मिश्रीको निर्धारित भ्रमणभन्दा ठीक अगाडि नेपाल र भारत लिपुलेकलाई लिएर विवादमा परे। प्रधानमन्त्री शाहले पनि मन्त्री वा उच्च स्तरका अधिकारीहरूसँग मात्र भेट्ने आफ्नो अडान कायम राखे। यी कारणहरूले गर्दा मिश्रीको भ्रमण रद्द भयो।
सरकारी पक्षले लामिछानेको भारत भ्रमणबाट आफूलाई टाढा राखेको छ । लामिछानेको भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणसँग जोड्न आवश्यक नभएको स्पष्ट पारेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछाने व्यक्तिगत हैसियतमा यात्रा गरिरहेको बताइसकेका छन् ।








