काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामका लागि भएको वार्तामा सहमति नजिक पुगेको बताएका छन् । ट्रम्पको दाबीअनुसार सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय समावेश हुनेछ ।

ट्रम्पले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेता तथा अधिकारीसँग टेलिफोन वार्ता गरेका छन्। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छुट्टै कुराकानी गरेको बताएका छन्।

ADVERTISEMENT

‘सम्झौताको अन्तिम पक्ष र विवरणहरू हाल छलफल भइरहेको छ, र चाँडै घोषणा गरिनेछ,’ उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले इस्लामाबादले भविष्यमा हुने अमेरिका(इरान वार्ताका लागि पहल जारी राख्ने बताए।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले वार्ताको प्रगतिबाट अंकारा खुसी भएको र कुनै पनि सम्झौताले स्ट्रेट अफ होर्मुज हुँदै स्वतन्त्र यात्राको सुविधा प्रदान गर्ने बताएका छन्। इजिप्टको राष्ट्रपतिले एक छुट्टै वक्तव्यमा सबै पक्षहरूलाई कूटनीतिक पहल लिन र सहमतिमा पुग्न आग्रह गरेको छ।

ADVERTISEMENT

दाबीअनुसार इरान युद्ध अन्त्यका लागि आफ्नो अत्यधिक संवर्धित युरेनियमको भण्डार त्याग्न तयार छ। न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिकालाई युरेनियम हटाउन सैद्धान्तिक सहमति जनाएको बताएको छ, तर यसलाई कसरी र कहाँ पठाउने भन्ने कुरा भने अझै तय भएको छैन।

इरानसँग अहिले ४०० किलोग्रामभन्दा बढी युरेनियम छ, जसलाई उत्पादन गरी आणविक हतियार बनाउन प्रयोग गर्न सकिन्छ। इजरायलका अनुसार यो करिब ११ वटा परमाणु बम बनाउन पर्याप्त हुन सक्छ। यही कारण इजरायलले लामो समयदेखि इरानको परमाणु कार्यक्रमको विरोध गर्दै आएको छ।

केही दिनअघि इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले यो युरेनियम देशबाहिर नपठाउन आदेश दिएको खबर आएको थियो। तर अब नयाँ रिपोर्टले दाबी गरेको छ कि इरान सम्झौताअन्तर्गत यसलाई छोड्न तयार हुन सक्छ।

इरानको रिभोलुसनरी गार्डले भने ‘आणविक मुद्दामा अहिलेसम्म पूर्ण छलफल भएको छैन’ भन्दै ट्रम्पले सामाजिक सञ्जालमा गरेको दाबीलाई प्रोपोगान्डाको आरोप लगाएको छ।