काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले तीन वटा महत्त्वपूर्ण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दलहरूको विरोधका बीच सरकारले प्रस्ताव अघि बढाएको हो ।

बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको हो ।

ADVERTISEMENT

तीनवटै प्रस्ताव प्रधानमन्त्री तथा गृहमन्त्री र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्मा प्रस्तुत गरेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालले प्रस्तावमाथि छलफलका लागि सांसदहरूको नाम माग गरेका थिए । तर कुनै सांसदले छलफलमा भाग लिन नाम नदिएपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो । यस्तै नेकपा (एमाले) र नेकपाका सांसदहरूले संसद्को रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए । विरोधका बीच पनि सभामुखले बैठकको प्रक्रिया अगाडि बढाएका थिए ।

ADVERTISEMENT

संसद्मा निर्वाचन प्रणाली, मतदाता नामावली व्यवस्थापन तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी कानुनी व्यवस्था संशोधन र व्यवस्थित गर्न सरकारले विधेयक ल्याएको जनाएको छ । विपक्षी दलहरूले भने विभिन्न विषयमा असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।