काठमाडौं । एमाले नेताहरूको कार्यविभाजन केन्द्रीय सचिवालय बैठकले तोक्ने भएको छ । ११औं महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको बैठकमा अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए । पहिलो बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय सदस्यहरूलाई टोल सुरक्षा समिति बनाउन आदेश दिएका छन्। उनले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

ADVERTISEMENT

ओलीले ७६ वर्षको अनुभव भएको आफ्नो पार्टीमा सबै उमेर समूह अटाएको दावीसमेत गरे । उनले युवा, वयस्क र पाका सबै उमेर समूहको साझा पार्टी एमाले मात्रै भएको बताए । अरूले नारामा जेनजी भन्ने गरे पनि असली जेनजीको पार्टी एमाले भएको दाबीसमेत उनले गरे ।

बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न प्रस्ताव राखेका छन्। जसमध्ये नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९ सदस्यीय सचिवालय छ। प्रस्तावअनुसार अब कसलाई के जिम्मेवारी दिने भन्ने विषय सचिवालयले तोक्नेछ। अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि फेरि बस्नेछ।

ADVERTISEMENT

मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय भएको छ ।

केन्द्रीय निकायअन्तर्गत सल्लाहकार परिषद् गठनको पनि बैठकमा प्रस्ताव गरिएको छ। यस्तो परिषद् कम्तीमा २५ सदस्यीय रहनेछ।

साथै, विधान संशोधन र परिमार्जन गर्दै प्रकाशन गर्ने प्रस्ताव छ। एमाले ११औं महाधिवेशन उद्घाटन भएर बन्द सत्र सुरू नहुँदै गर्दा केन्द्रीय कमिटी बैठक गरेर पुरानै विधान ब्युँत्याइएको थियो। जसअनुसार सचिवालय, केन्द्रीय कमिटीको आकार बढाइएको थियो।