काठमाडौं । गत भदौ २३/२४ मा भएको जेनजी आन्दोलन र असोज महिनामा आएको बेमौसमी बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूको नाफामा असर परेको छ। कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार यी घटनाले समग्र वित्तीय सूचकमा नकारात्मक प्रभाव पारेको देखिएको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब २७ करोड १९ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीहरूले २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ नाफा कमाएका थिए।
समीक्षा अवधिमा दुई कम्पनी घाटामा रहेका छन्। नेशनल इन्स्योरेन्स कम्पनी १७ करोड ६४ लाख रुपैयाँ घाटामा रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी ६ करोड ९७ लाख रुपैयाँ घाटामा देखिएको छ।
नाफाका आधारमा ओरिएन्टल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले चैतसम्म ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसपछि राष्ट्रिय बीमा कम्पनी ले २८ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै, प्रभु इन्स्योरेन्स ले २१ करोड १५ लाख, नेको इन्स्योरेन्स ले १६ करोड ३९ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ले १३ करोड ३२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स ले ११ करोड ५ लाख र नेपाल इन्स्योरेन्स कम्पनी ले १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसैगरी शिखर इन्स्योरेन्स ले ७ करोड ५ लाख, सानिमा जिआइसी इन्स्योरेन्स ले ५ करोड १३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले ४ करोड १ लाख, एनएलजी इन्स्योरेन्स ले ३ करोड ४८ लाख तथा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स ले ४ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।









