काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म देशको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, चालु खाता र शोधनान्तर स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ भने मुद्रास्फीति पनि नियन्त्रणभित्र देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत कायम भएको छ भने चालु आर्थिक वर्षको नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । अघिल्ला वर्षहरूको तुलनामा मूल्यवृद्धि दर अपेक्षाकृत कम रहेकोले उपभोक्ता बजार केही स्थिर बन्दै गएको संकेत देखिएको छ ।
देशको विदेशी विनिमय सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ । चैत मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड बराबर रहेको छ । हालको सञ्चितिले १८.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र बैंकको भनाइ छ, जसलाई बाह्य क्षेत्रका लागि निकै सहज अवस्था मानिएको छ ।
विप्रेषण आप्रवाहमा पनि उल्लेखनीय वृद्धि भएको छ । नौ महिनाको अवधिमा विप्रेषण नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३१.९ प्रतिशतले बढेको छ । चैत महिनामा मात्र २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ विप्रेषण भित्रिएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीबाट आउने आम्दानी बढेसँगै उपभोग, बैंकिङ तरलता र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको छ ।
बाह्य व्यापारतर्फ निर्यात र आयात दुवैमा वृद्धि देखिएको छ । निर्यात १८.५ प्रतिशतले बढेको छ भने आयात १३.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च रहेकाले व्यापार घाटामा केही सुधार देखिएको विश्लेषण गरिएको छ ।
चालु खाता र शोधनान्तर स्थिति पनि उच्च बचतमा रहेको छ । चैत मसान्तसम्म चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ बचतमा पुगेको छ । यसले बाह्य क्षेत्रको सन्तुलन बलियो रहेको संकेत गरेको राष्ट्र बैंकको निष्कर्ष छ ।
सरकारी वित्त व्यवस्थापनतर्फ नेपाल सरकारको कुल खर्च १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ भने राजस्व संकलन ८ खर्ब ८६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । खर्चको तुलनामा राजस्व संकलन कम भए पनि आर्थिक गतिविधि विस्तारसँगै राजस्व वृद्धिको अपेक्षा गरिएको छ ।
मौद्रिक क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धिदर १४.५ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ८.५ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेप वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमा कर्जा प्रवाह ६.९ प्रतिशत रहेको छ ।
बैंकिङ प्रणालीमा ब्याजदर पनि तुलनात्मक रूपमा न्यून देखिएको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.६१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको औसत ब्याजदर ६.७७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले समग्र अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि उत्पादन, लगानी विस्तार र पुँजीगत खर्च वृद्धिमा अझै चुनौती रहेको अर्थविद्हरू बताउँछन् । विशेषगरी निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नु, उद्योग–व्यवसायमा सुस्तता रहनु तथा सरकारी विकास खर्च कम हुनु आगामी दिनका प्रमुख चुनौतीका रूपमा देखिएको छ ।






