काठमाडौं । संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिन नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९५ अनुसार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।संविधानको उक्त धाराअनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था छ।

ADVERTISEMENT

संसद सचिवालयले राष्ट्रपति सम्बोधन हुने संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित भइसक्न अनुरोध गरेको छ।यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय गरिएको छ।संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइनेछ।

त्यसैगरी मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराउने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन तथा प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिने कार्यसूची रहेको छ।

ADVERTISEMENT

प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि बैठकमा पेश गरिनेछ।यसैबीच सरकारले जारी गरेका आठ वटा अध्यादेश पनि संसद्मा पेश हुनेछन्।तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ लगायत रहेका छन्।

संसद सचिवालयका अनुसार ती अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा पेश गरिनेछन्।