दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण हुने दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवन जिल्लामा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुख कटान गर्न अनुमति प्राप्त भएको छ।
डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुख कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र दिएको हो। यससँगै आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौतासमेत गरिएको छ।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार भरतपुर महानगरपालिका–१ को सतनचुली संरक्षित क्षेत्र, सतनचुली सामुदायिक वन तथा वडा नम्बर २९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिनेछ।
कटान गरिएका रुखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब–डिभिजन वन कार्यालयले निर्धारण गरेको सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने प्रावधान राखिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा उक्त क्षेत्रमा रहेका नौ हजार १२७ वटा रुख हटाउन स्वीकृति दिइएको थियो।
सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएको थियो। त्यसपछि डिभिजन वन कार्यालय, आयोजना र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा रुख छपानको काम अघि बढाइएको हो। तनहुँ क्षेत्रमा पर्ने रुखहरूको छपान कार्य अझै जारी रहेको आयोजनाले जनाएको छ।








