काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्व र त्यसले विश्व आर्थिक वृद्धिमा पार्न सक्ने प्रभावबारे लगानीकर्ताहरू चिन्तित बनेपछि युरोपेली शेयर बजार साता अन्तिम कारोबार दिन शुक्रबार घट्दो अवस्थामा खुलेको छ।

लन्डन समय अनुसार बिहान ९ बजे (ईटी ५ बजे) सम्म प्यान–युरोपियन स्टक्स ६०० सूचकांक करिब ०.५ प्रतिशतले घटेको देखिएको छ। यससँगै युरोपका प्रमुख क्षेत्रीय बजारहरू तथा अधिकांश क्षेत्रका कम्पनीहरूको शेयर मूल्य प्रारम्भिक कारोबारमै नकारात्मक देखिएका छन्।

ADVERTISEMENT

अघिल्लो दिन पनि युरोपेली शेयर बजार गिरावटमै बन्द भएको थियो। बिहीबारको कारोबार अन्त्य हुँदा स्टक्स ६०० सूचकांक झण्डै ०.७ प्रतिशतले घटेको थियो।युरोपका प्रमुख शेयर सूचकांकहरू पनि शुक्रबार सुरुवाती कारोबारमा घटेका छन्। फ्रान्सको सीएसी ४० सूचकांक ०.९३ प्रतिशतले घटेर ७,९१०.२३ बिन्दुमा पुगेको छ भने जर्मनीको ड्याक्स सूचकांक ०.८८ प्रतिशतले घटेर २३,३८३.१५ बिन्दुमा झरेको छ। बेलायतको एफटीएसई १०० सूचकांक ०.५७ प्रतिशतले घटेर १०,२४६.२२ बिन्दुमा पुगेको छ। त्यस्तै, इटालीको एफटीएसई एमआईबी सूचकांक ०.६२ प्रतिशत र स्पेनको आइबेक्स ३५ सूचकांक १.१० प्रतिशतले घटेको छ।

ADVERTISEMENT

यसबीच ऊर्जा बजार पनि विश्व बजारको प्रमुख चिन्ताको विषय बनेको छ। विश्व बजारमा तेल आपूर्ति घट्न सक्ने चिन्तालाई कम गर्न अमेरिका सरकारले समुद्रमा ट्रान्जिटमा रहेका प्रतिबन्धित रूसी तेलमाथि अस्थायी रूपमा ३० दिनको छुट दिने निर्णय गरेको छ।

यद्यपि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अझै उच्च स्तरमै रहेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य ०.५ प्रतिशतले बढेर प्रति ब्यारेल १००.९६ डलर पुगेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरे पनि तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छैन।

ADVERTISEMENT

अमेरिकी मापदण्डको कच्चा तेल वेस्ट टेक्सास इन्टरमिडियट (WTI) भने प्रति ब्यारेल ९५.९६ डलरमा कारोबार भइरहेको छ, जुन करिब ०.३ प्रतिशतले घटेको हो। अमेरिकी ऊर्जा विभागले आफ्नो स्ट्राटेजिक पेट्रोलियम रिजर्भबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरेको छ।

मध्यपूर्व क्षेत्रमा जहाजमाथि आक्रमणका घटनाहरू बढेपछि तेल आपूर्तिमा थप जोखिम देखिएको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूको सुरक्षाका लागि सैन्य एस्कर्ट व्यवस्था चाँडै सुरु गरिने बताएका छन्।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले उक्त समुद्री मार्ग अवरुद्ध गर्ने निर्णय कायम रहने बताएका छन्। यो मार्ग प्रभावकारी रूपमा बन्द हुँदा विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ।

अन्य आर्थिक संकेतकहरू पनि कमजोर देखिएका छन्। बेलायतको जनवरी महिनाको जीडीपी वृद्धिदर शून्यमा झरेको तथ्यांक सार्वजनिक भएको छ, जसले अर्थतन्त्र स्थिर अवस्थामा रहेको देखाएको छ।

एशियाली बजारहरू पनि दबाबमा देखिएका छन्। जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी सूचकांक शुक्रबारको कारोबारमा घटेका छन्।

यता अमेरिकी शेयर बजारका फ्युचर्स भने केही सकारात्मक देखिएका छन्। एसएण्डपी ५०० फ्युचर्स ०.२५ प्रतिशतले बढेको छ भने डाउ जोन्स फ्युचर्स ०.३२ प्रतिशत र नास्ड्याक १०० फ्युचर्स ०.१२ प्रतिशतले उकालो लागेको छ।

तर समग्रमा हेर्दा अमेरिकी शेयर बजार पनि यस साता समग्र रूपमा घट्दो प्रवृत्तिमा रहेको विश्लेषकहरूले बताएका छन्। विश्वव्यापी भू–राजनीतिक तनाव, ऊर्जा मूल्य वृद्धि र आर्थिक अनिश्चितताले अन्तर्राष्ट्रिय वित्तीय बजारमा दबाब कायम रहेको देखिन्छ।