काठमाडौं । सरकारले मुलुकको आर्थिक रूपान्तरणलाई तीव्रता दिन चारवटा मुख्य संवाहक क्षेत्रहरूको पहिचान गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्र (स्थिति पत्र) मार्फत ऊर्जा, कृषि–उद्योग–पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिएको हो।
श्वेतपत्रमा आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने तथा अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक पुर्याउने लक्ष्य राखिएको छ। यसमार्फत नेपाललाई ससम्मान मध्यम आय भएको मुलुक बनाउने आधार प्रस्तुत गरिएको मन्त्रालयले जनाएको छ।
ऊर्जा क्षेत्र
ऊर्जा क्षेत्रअन्तर्गत सरकारले आगामी पाँच वर्षभित्र कुल जडित विद्युत् क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने तथा रणनीतिक महत्त्वका नयाँ आयोजना सुरु गरी निजी लगानीसमेत आकर्षित गर्ने योजना अघि सारिएको छ।
कृषि, उद्योग र पर्यटनको अन्तरआबद्धता
सरकारले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै यसलाई उद्योग र पर्यटन क्षेत्रसँग जोड्ने नीति लिएको छ। यसबाट उत्पादनमूलक रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
गुणस्तरीय पर्यटन पूर्वाधार
पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास, सेवामा सुधार तथा आवागमन सहज बनाउने लक्ष्य राखिएको छ। यसले रोजगारी वृद्धि र आय आर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
सूचना प्रविधि र डिजिटल अर्थतन्त्र
सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। कृत्रिम बौद्धिकता लगायत आधुनिक प्रविधिको उपयोगमार्फत उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि गर्ने लक्ष्य सरकारको रहेको छ।








