गोरखा । असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती तथा बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले घर, पसल, गोदाम र भौतिक संरचना बगाउनुका साथै सोती–मान्बु जोड्ने मोटरेबल पक्की पुलसमेत बगाएको छ।
बाढीबाट आरुघाट गाउँपालिकाको शान्तिबजार, धार्चे गाउँपालिका–५ स्थित माछिखोला बजार तथा नदी किनारका अन्य बस्ती प्रभावित भएका छन्। माछिखोला क्षेत्रमा पसल र गोदाममा ठूलो क्षति पुगेको छ भने केरौँजा जाने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। सल्लेरी र जगत बजारमा समेत क्षति पुगेको छ।
आरुघाट गाउँपालिका–५ को शान्तिबजारमा बूढीगण्डकी नदीले धार परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा स्थानीयका घरमा ठूलो क्षति पुगेको छ। बाढीले घरभित्रका सामान तथा पशुचौपायासमेत बगाएको छ। घरबार गुमाएका प्रभावित परिवार अहिले अस्थायी टेन्टमा बस्न बाध्य छन्।
बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा आवतजावत र सामान ढुवानी प्रभावित भएको छ। केरौँजा र खोल्राबेंसी क्षेत्रका पुलमा क्षति पुगेपछि कतिपय स्थानमा पैदल आवतजावतसमेत कठिन बनेको छ।




























