काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको सहकार्यमा कक्ष सञ्चालनमा ल्याइएको हो।

श्रममन्त्रीस्तरीय निर्णयबाट सुरु गरिएको यस कक्षमार्फत श्रमिकलाई भिसा, फ्री भिसा–फ्री टिकट, म्यानपावरलाई तिरेको शुल्क, श्रम स्वीकृति लगायत विषयमा जानकारी प्रदान गरिन्छ। साथै, श्रमिकले आफू जाने काम र सम्झौतासम्बन्धी कागजातको समेत जाँच गर्न सक्नेछन्।

ADVERTISEMENT

सहायता कक्षमा खटिएका कर्मचारीले श्रमिकका गुनासो सुन्ने, समस्या परे समाधानका लागि पहल गर्ने र विदेशमा समस्या आए दूतावाससँग कसरी सम्पर्क गर्ने भन्नेबारे जानकारी दिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

मन्त्रालयका अनुसार श्रमिक ठगीमा नपरोस् भन्ने उद्देश्यले कक्ष स्थापना गरिएको हो। मंगलबारदेखि सञ्चालनमा आएको कक्षमा नयाँ जानेभन्दा पुनः वैदेशिक रोजगारीमा जान लागेकाहरूको बढी चासो देखिएको छ।

ADVERTISEMENT