काठमाडौं । काठमाडौंको मेयर जितेदेखि नै विश्वका मिडियामा चर्चामा रहेका वालेन्द्र शाह बालेन प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । बालेन प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागजिनले बुधबार सन् २०२६ का सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

सूचीमा प्रभावशाली व्यक्तित्वलाई अग्रणी कलाकार, दिग्गज, नवप्रवर्तक, आइकन, नेता र मार्गदर्शक विधामा छुट्याइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तरिक रहमानसहित २४ जना राजनीतिक क्षेत्रका व्यक्तिसँगै बालेनको नाम समावेश गरिएको छ ।

म्यागजिनका प्रधानसम्पादक स्याम ज्याकोबका अनुसार विभिन्न क्षेत्रमा विश्वको दिशा निर्धारण गरिरहेका व्यक्ति यसमा छन् । यो सूची केवल सफलता वा लोकप्रियताका आधारमा नभई विश्वव्यापी प्रभाव, सोच परिवर्तन गर्ने क्षमता तथा समाजमा दीर्घकालीन योगदानका आधारमा तयार गरिएको म्यागजिनले जनाएको छ । २०२६ संस्करणमा विशेषगरी ती व्यक्तिलाई समावेश गरिएको छ, जसले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा नयाँ सोच, प्रविधि र नेतृत्व प्रस्तुत गरिरहेका छन् ।

यस वर्षको सूचीमा विभिन्न देशका राष्ट्रप्रमुख, सामाजिक अभियन्ता, उद्यमी, कलाकार र वैज्ञानिक छन् । बालेन तीन वर्षअघि सन् २०२३ मा ‘टाइम १०० नेक्स्ट’को सूचीमा पनि सूचीकृत भएका थिए । टाइम म्यागजिनका एडिटर–एट–लार्ज चार्ली क्याम्पवेलले बालेनको ‘प्रोफाइल’ लेखेका छन् ।