काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा इजरायल, कुवेत, बहराइन र लेबानान जान पुनः श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागले बुधबार सूचना निकालेर थप चारवटा देशको पुनः श्रम स्वीकृति खुला गरेको जनाएको हो ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा बढेको तनावका कारण सरकारले फागुन १७ गतेदेखि पश्चिम एसियाका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गर्ने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।
केही दिनदेखि पश्चिम एसियाको अवस्था केही स्थिर बनेपछि सरकारले यसअघि साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति खुला गरेको थियो । इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति आजदेखि नियमित भएको विभागले जनाएको छ ।
‘मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा रहेका मुलुकहरुमा वेदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति यस विभागबाट स्थगन गरिएकोमा इजरायल, कुवेत, बहराइन र लेवनन देशको समेत पुनः श्रम स्वीकृतिको कार्य सुचारु गरिएको छ,’ विभागले भनेको छ । इराकको हकमा मन्त्रिपरिषद्को पुस ११ को निर्णयबमोजिम हुनेगरी श्रम स्वीकृति प्रदान हुने विभागले जनाएको छ ।









