काठमाडौँ । प्यालेस्टिनी समूह हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी विपिनको रिहाइका लागि थप पहल गर्न आग्रह गरेका छन्।
विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणका क्रममा अपहरणमा परेका नेपाली विद्यार्थीमध्ये एक हुन्। सो दिन हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशीलाई बन्धक बनाएर गाजामा लगिएको पुष्टि भएको थियो। उनी हालसम्म मुक्त भएका छैनन्।
आमा पद्मा र बहिनी पुष्पा इजरायलस्थित नेपाली दूतावासको समन्वयमा इजरायल पुगेर त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूसँग समेत भेटेर नेपाल फर्किएका हुन्। उनीहरूले विपिनको विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाइएको र यसबारे निरन्तर चासो देखाइएको बताएका छन्।

तस्विर: आमा पद्मा र पुष्पा जोशी इजरायलमा
राष्ट्रपति पौडेलसँगको भेटमा विपिनकी आमा पद्माले, “मेरो छोरो निर्दोष विद्यार्थी हो, कृपया मानवीय दृष्टिले उसको रिहाइका लागि थप पहल गरिदिनुहोस ,” भन्दै भावुक अनुरोध गरिन्।
सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको सुरक्षित रिहाइका लागि सरकार र आफ्नो तर्फबाट निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि पनि नेपाल सरकारले इजरायल र कतारमार्फत विभिन्न स्तरमा कूटनीतिक पहल गरिरहेको बताएको छ। तर, करिब १० महिना बितिसक्दा पनि विपिनको अवस्थाबारे वास्तविक जानकारी अझै आउन सकेको छैन।








