काठमाडौं । इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच जारी तनावपूर्ण द्वन्द्व थप खतरनाक मोडतर्फ गएको छ। इरानले इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिने हाइफा खाडीस्थित
बजान ग्रुप रिफाइनरीमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।इरानका अनुसार उक्त आक्रमण इजरायल र अमेरिकाले हालै इरानका तेल भण्डारण केन्द्र तथा ऊर्जा पूर्वाधारमा गरेको हमलाको प्रतिशोधस्वरूप गरिएको हो।
इरानको आईआरजीसी ले ‘खैबर शेकन’ नामक ठोस इन्धनयुक्त ब्यालेस्टिक मिसाइल प्रयोग गरी आक्रमण गरिएको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा रिफाइनरी आसपास ठूलो विस्फोट र आगलागी भएको देखिएको दाबी गरिएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ।
हाइफा खाडीमा रहेको बाजान ग्रुप रिफाइनरी इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ। विभिन्न प्रतिवेदनअनुसार यसले इजरायलको कुल घरेलु इन्धन आवश्यकताको करिब ५० देखि ६० प्रतिशत आपूर्ति गर्दै आएको छ। त्यसैले यस रिफाइनरीमाथि भएको आक्रमणलाई इजरायलको ऊर्जा सुरक्षामाथि ठूलो धक्का मानिएको छ।
यसअघि पनि जुन २०२५ मा इरानी मिसाइल आक्रमणका कारण यही रिफाइनरी क्षतिग्रस्त भएको थियो। त्यस घटनामा तीन कर्मचारीको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए।
इरानी अधिकारीहरूले हालै तेहरान आसपासका तेल भण्डारण केन्द्र र ऊर्जा संरचनामाथि भएका आक्रमणपछि यस्तो कदम चालिएको बताएका छन्। उनीहरूले इरानका ऊर्जा स्रोतहरूलाई निशाना बनाइए इजरायलका महत्वपूर्ण औद्योगिक तथा आर्थिक केन्द्रहरूमा पनि प्रतिआक्रमण गरिने चेतावनी दिएका छन्।
हाइफा बन्दरगाह र आसपासका औद्योगिक क्षेत्र भारत का लागि पनि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छन्। भारतका विभिन्न कम्पनीहरूले इजरायलसँग ऊर्जा, बन्दरगाह तथा पूर्वाधार क्षेत्रमा सहकार्य गर्दै आएका छन्। त्यसैले हाइफा क्षेत्रमा तनाव बढेमा भारत–इजरायल व्यापार, समुद्री मार्ग तथा क्षेत्रीय आपूर्ति प्रणालीमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य गतिविधिका कारण अन्तर्राष्ट्रिय समुदायले सम्भावित ठूलो क्षेत्रीय संकटबारे चिन्ता व्यक्त गर्न थालेका छन्।








