काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले इजरायलको अस्तित्व र सुरक्षाका लागि अमेरिकाको समर्थन निर्णायक रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

फ्रान्सको  जी सेभन समिटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका र आफ्नो नेतृत्वबिनाको अवस्थामा इजरायल अहिलेको अवस्थामा पुग्न नसक्ने दाबी गरेका हुन्। उनले इजरायलले हालै लेबनानमा गरेको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यस्ता कदमले मध्यपूर्वमा जारी कूटनीतिक प्रयासलाई कमजोर पार्न सक्ने बताएका छन्।

ADVERTISEMENT

“अमेरिका बिना, र मेरो नेतृत्व बिना, इजरायलको बाँकी रहेनछैन ,” ट्रम्प

विश्लेषकहरूका अनुसार दोस्रो कार्यकालमा फर्किएपछि ट्रम्पले नेतान्याहूमाथि सार्वजनिक रूपमा गरेको यो सबैभन्दा कडा टिप्पणीमध्ये एक हो। पछिल्ला महिनाहरूमा इरानसँग सम्बन्धित क्षेत्रीय तनाव, युद्धविराम कायम राख्ने प्रयास तथा लेबनान सीमाक्षेत्रको अवस्थालाई लिएर वासिङ्टन र तेल आबिबबीच मतभेद बढ्दै गएको बताइएको छ।

ADVERTISEMENT

विवादको पछिल्लो कारण इजरायलले लेबनानमा गरेको सैन्य आक्रमण हो। अमेरिकी प्रशासनले यस्ता कारबाहीले क्षेत्रीय तनाव थप बढाउन सक्ने र मध्यपूर्वमा स्थायित्व कायम गर्ने प्रयासमा असर पुग्न सक्ने चिन्ता व्यक्त गर्दै आएको छ।

ट्रम्प प्रशासनले एकातिर इजरायलको सुरक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याइरहेको छ भने अर्कोतर्फ कूटनीतिक माध्यमबाट क्षेत्रीय संकट समाधान गर्नुपर्नेमा जोड दिइरहेको छ। ह्वाइट हाउस विभिन्न पक्षहरूसँग छलफल गर्दै मध्यपूर्वमा व्यापक युद्ध फैलिन नदिन प्रयासरत रहेको जनाइएको छ।

यता नेतान्याहू नेतृत्वको सरकारले भने राष्ट्रिय सुरक्षामाथि खतरा देखिएमा आवश्यक सैन्य कारबाही गर्ने अधिकार इजरायलसँग सुरक्षित रहेको अडान दोहोर्याएको छ। विशेषगरी उत्तरी सीमाक्षेत्रमा सक्रिय सशस्त्र समूहहरूबाट आउने सम्भावित खतरालाई लिएर इजरायल सतर्क रहेको बताइएको छ।

ट्रम्प र नेतान्याहूबीच देखिएको यो सार्वजनिक मतभेदले अमेरिका–इजरायल सम्बन्धको भावी दिशाबारे नयाँ बहस सुरु गरेको छ। मध्यपूर्वमा इरानसँगको तनाव, युद्धविरामको प्रयास र क्षेत्रीय गठबन्धनहरू पुनः परिभाषित भइरहेका बेला दुई पुराना सहयोगीबीचको दूरीले आगामी कूटनीतिक समीकरणमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

हालसम्म ट्रम्पको अभिव्यक्तिपछि न त अमेरिकी प्रशासनले कुनै नयाँ नीतिगत परिवर्तनको घोषणा गरेको छ, न त इजरायली सरकारले औपचारिक प्रतिक्रिया दिएको छ। तर यी टिप्पणीहरूले अमेरिका–इजरायल सम्बन्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे थप बहस सिर्जना गर्ने निश्चित देखिएको छ।