काठमाडौं । मोहम्मद बाघेर घालिबाफले अमेरिकाले इरानका अधिकारहरू स्वीकार गर्न तयार भए मात्र शान्ति सम्झौता सम्भव हुने बताएका छन् ।
इस्लामाबाद मा जारी उच्चस्तरीय वार्ताका लागि पुगेका घालिबाफले शुक्रबार राति सञ्चारमाध्यमसँग कुरा गर्दै इरान राम्रो नियतका साथ वार्तामा सहभागी भएको तर अमेरिकाप्रति अझै विश्वास नरहेको बताएका हुन् ।
६ सातादेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित भइरहेको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व घालिबाफले गरिरहेका छन् भने अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गरिरहेका छन् ।
आईआरएनए का अनुसार घालिबाफले विगतका वार्ताहरूमा वाशिङ्टनले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेको आरोप लगाएका छन् । सोही अनुभवका आधारमा इरान अझै सतर्क रहेको संकेत उनले दिएका छन् ।
यसैबीच, वार्तामा सहभागी हुन उपराष्ट्रपति भान्स पनि इस्लामाबाद पुगिसकेका छन् ।
अमेरिकाले इरानका अधिकार स्वीकारे मात्रै शान्ति सम्भव : सभामुख घालिबाफ






