काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोवार कक्ष यो साता छ कार्य दिन खुल्ला रहेको छ । सरकारले यही चैत्र २३ गते देखि हप्तामा दुई दिन अर्थात शनिवार र आईतबार सार्वजनिक बिदा दिन व्यवस्था कार्यान्वयनमा ल्यायसंगै यो साता नेप्से छ कारोबार दिन खुल्ला रहेको हो । यद्धापी अर्को साता भने नेप्से आईतबार बन्द भई पाँच कार्य दिन मात्र खुल्ला रहने छ । नेप्सेको नियमित कारोवार कक्ष सातामा छ कार्यदिन खुलेको भएपनि कारोबार रकममा भने गत साताको तुलनामा थोरै कमी आएको छ । यसैगरी शेयर बजार परिसुचक नेप्से पनि यो साता २८ सय ३७ दशमलव ७७ बिन्दुमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार सय ७८ दशमलव १३ बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा यो साता तीन सय ४६ वटा कम्पनीहरुको छ लाख ५१ हजार दुई सय २२ पटकको कारोबारमा १४ करोड १६ लाख चार हजार आठ सय ३८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम ५७ अर्ब २७ करोड ७९ लाख ६९ हजार दुई सय चार रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैंयाँले कम हो ।
गत साता तीन सय ४७ वटा कम्पनीहरुको सात लाख २० हजार दुई सय ९८ पटकको कारोबारमा १४ करोड ६४ लाख ८९ हजार दुई सय ७४ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल ६० अर्ब चार करोड १६ लाख ३७ हजार सात सय ३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । नियमित कारोवारको लागि छ कार्य दिन खुल्ला रहेको नेप्से यो साता दोस्रो, चौंथो र पाँचौं दिन उकालो लागेपनि बाँकी तीन कार्यदिन लगातार ओरालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एक सय पाँच दशमलव ५० अंकले घटेर दुई हजार छ सय ७६ दशमलव ६८ झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर चार सय ५७ दशमलव ६१ अंकमा खुम्चिएको थियो । दोस्रो दिन सोमबार नेप्से परिसुचक ८३ दशमलव ३३ अंकले बढेर दुई हजार सात सय ६० दशमलव दुई अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३० अंकले बढेर चार सय ७१ दशमलव ९२ अंकमा चढेको थियो । तेस्रो दिन मंगलबार नेप्से परिसुचक दुई दशमलव ६१ अंकले घटेर दुई हजार सात सय ५७ दशमलव ४० बिन्दुमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले घटेर चार सय ७१ दशमलव १३ बिन्दुमा खुम्चिएको छ । चौथो दिन बुधबार नेप्से पुन ४५ दशमलव १२ अंकले बढेर दुई हजार आठ सय दुई दशमलव ५२ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७५ अंकले बढेर चार सय ७६ दशमलव ८८ बिन्दुमा चढेको थियो । पाँचौं दिन बिहिबार पनि नेप्से ४८ दशमलव ७१ अंकले बढेर दुई हजार आठ सय ५१ दशमलव २४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले बढेर चार सय ८१ दशमलव ५३ बिन्दुमा चढेको थियो । छैठौ दिन शुक्रबार पुन नेप्से १३ दशमलव ४६ अंकले घटेर दुई हजार आठ सय ३७ दशमलव ७७ बिन्दुमा खुम्चिएकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३९ अंकले घटेर चार सय ७८ दशमलव १३ बिन्दुमा खुम्चिएको थियो ।
यो साता नेशनल हाईड्रो पावर लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड आदिको बढी रकम कारोबार भएपनि नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदिको बढी संख्यामा शेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
दैनिक सेयर कारोबार तालिका

श्रोत:नेपाल स्टक एक्सचेन्ज लिमिटेड








