काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सरकारको नयाँ नियमका कारण यो हप्ता सेयर बजार ६ दिन खुल्ने भएको छ । विगतमा बिहीबारपछि आइतबार मात्र सेयर बजार खुल्थ्यो । यसपटक भने भोलि शुक्रबार पनि सेयर बजार खुला हुने भएको छ ।
बुधबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.७१ अंक बढेर २८५१.२४ विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार आठ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३३८ स्टको एक लाख ८ हजार ८६९ पटकको कारोबारमा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको दुई करोड ७९ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
नेसनल हाइड्रोपावर कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रिइन्स्योरेन्सको करिब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
आज आठ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक दुई प्रतिशभन्दा बढी बढेको छ । बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।






