काठमाडौं । केही समययता सेयर बजारप्रति लगानीकर्ताहरू उत्साहित देखिन थालेका छन् । यो साता लगानीकर्ताहरूको विभिन्न समूहले पुँजी बजार सुधारका लागि भन्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफू जहिले पनि लगानीकर्ताहरूको हितको पक्षमा रहेको र पुँजी बजार सुधारका लागि काम गर्न प्रतिवद्ध रहेको बताएका थिए । प्रधानमन्त्रीकाे बाेलीपछि साढे २६ सयमा ओर्लिएकाे नेप्से  उकालाे लागेर झन्डै साढे २७ सय नजिक पुगेकाे छ ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहको सो अभिव्यक्तिलगत्तै सेयर बजारले युटर्न लिएको थियो । जसले गर्दा यो साता नेप्से परिसूचक पुनः २७३४.६३ बिन्दुमा कायम हुन पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४७३.४७ बिन्दुुमा पुगेको छ ।

ADVERTISEMENT

यो साता धितोपत्र बजारमा तीन सय ५३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट तीन लाख २६ हजार एक सय ९९ पटकको कारोबारमा ६ करोड २३ लाख ७८ हजार चार सय २६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २८ अर्ब ३३ करोड १८ लाख ५० हजार एक सय १८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले कम हो ।

गत साता तीन सय ८३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसबाट दुई लाख ४१ हजार ६ सय ७४ पटकको कारोबारमा आठ करोड ८३ लाख ५० हजार एक सय ११ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३० अर्ब तीन करोड ७० लाख तीन हजार १६ रुपैयाँ पुगेको थियो ।

ADVERTISEMENT

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन लगातार उकालो लागेको नेप्से परिसूचक तेस्रो दिन भने खुम्चिएको थियो ।

दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१ दशमलव ७० अंकले उकालो लागेर दुई हजार सात सय १९ दशमलव २४ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २२ अंकले उकालो लागेर चार सय ७२ दशमलव ६० बिन्दुमा चढेको थियो ।

दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक सात दशमलव २५ अंकले उकालो लागेर दुई हजार सात सय २६ दशमलव ४९ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १८ अंकले ओरालो लागेर चार सय ७२ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।

तेस्रो दिन बुधबार भने नेप्से परिसूचक १३ दशमलव ९५ अंकले ओरालो लागेर दुई हजार सात सय १२ दशमलव ५४ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १० अंकले ओरालो लागेर चार सय ७० दशमलव ३१ बिन्दुमा झरेको थियो ।

चौथो दिन बिहीबार भने नेप्से परिसूचक १४ दशमलव १७ अंकले उकालो लागेर दुई हजार सात सय २६ दशमलव ७२ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९८ अंकले उकालो लागेर चार सय ७१ दशमलव ३० बिन्दुमा चढेको थियो ।

पाँचौं दिन शुक्रबार पनि नेप्से परिसूचक सात दशमलव ९० अंकले उकालो लागेर दुई हजार सात सय ३४ दशमलव ६३ बिन्दुमा पुगेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १६ अंकले उकालो लागेर चार सय ७३ दशमलव ४७ बिन्दुमा पुगेको थियो ।

धितोपत्र बजारमा यो साता रिडी पावर कम्पनी लिमिटेड, आँखुखोला जलबिद्युत कम्पनी, रिलायन्स स्पिनिङ मिल्स आदिको कारोबार धेरै हुँदा लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।