काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार तीन हजार विन्दु पुगेको सेयर बजार ओरालो लागेको छ । करिब एक वर्षपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०१३ विन्दुसम्म पुगेको थियो । तर नेप्सेको उत्साह धेरैबेर टिक्न सकेन ।

मौद्रिक नीति आएपछि नेप्से परिसुचक करिब दुई सातापछि पहिलोपटक नकारात्मक देखियो । आइतबार १८ दशमलव ४४ अंकले घटेको नेप्से बजार बन्द हुँदा २९६४.२० अंकमा कायम छ । तर कारोबारमा भने कीर्तिमान कायम भएको छ ।

ADVERTISEMENT

आज २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको बजारमा ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १८६ कम्पनीको सेयर मूल्य घटेको छ। गएको साता आइतबार व्यापक उतारचढावबीच ०.३२ अंकले बढेको बजार सोमबार २१.७६ र मंगलबार ८०.९६ अंकले बढेको थियो। बुधबार ५.१८ अंकले बढेको बजारमा बिहीबार पनि ३.७६ अंकको वृद्धितर्फ देखिएको थियो।

यस वर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। साउन १ गते बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो। गएको साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ, सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, मंगलबार २० अर्ब आठ करोड ५३ लाख रुपैयाँ, बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ र बिहीबार १८ अर्ब ४९ करोड चार लाख रुपैयाँको कारोबार भएको थियो।

ADVERTISEMENT

आइतबार समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूूल्यमा सर्किट लागेको छ ।