काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारको आर्थिक सुधारको योजनाको स्वागत गरेको छ ।
एफएनसिसिआइका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार सामाजिक सञ्जालमार्फत सरकारको सय दिने सुधारका योजनाअन्तर्गत निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गरेकामा धन्यवाद दिँदै स्वागत गरेका हुन् ।
सरकारको यो रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा हामी विश्वस्त रहेको उनको भनाइ छ ।
‘सरकारले नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउँदै आएको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो। यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौँ,’ ढकालले भनेका छन् ।
उनले मन्त्रिपरिषदले पारित गरेको रणनीतिको प्रभावकारी कार्यान्वयनले निजी क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । ‘यसको प्रभावकारी कार्यान्वयनले निजी क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्दै लगानीमैत्री वातावरण प्रवर्द्धन गर्न र उद्यमशीलतालाई थप ऊर्जा दिन महत्वपूर्ण भूमिका खेल्नेछ।
यसको प्रभावकारी कार्यान्वयनबाट व्यवसायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै लगानी वृद्धि, रोजगारी सृजना र समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउनेछ,’ ढकालले भनेका छन् ।








